काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको बताउनुभयो । युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
अध्यक्ष दाहालले ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान भएको बताउँदै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त स्थानका रुपमा संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताउनुभयो ।
अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुद पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताउनुभयो । उहाँले विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताउनुभयो । उहाँले खरिद ऐन देशको विकास, समृद्धि र आवश्यकताको निम्ति कतै न कतै बाधा बनेको भन्दै संशोधन हुने प्रक्रियामा गएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ । त्यसलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु निकै उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।’
अध्यक्ष दाहालले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनाउन सबैको साझा पहल जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्