काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै न्यायाधीश राउतले यस्तो बताउनुभएको हो ।
न्यायाधीश राउतले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताउनुभयो । उहाँले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताउनुभयो ।
न्यायाधीश राउतले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याउनुभयो । लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । उहाँले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताउनुभयो ।
न्यायाधीश राउतले निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गर्नुभयो । न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताउनुभयो । उहाँले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गर्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न देशहरुले पनि कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताउनुभयो ।
न्यायाधीश फुयाँलले न्यायाधीशहरु र अदालतका कर्मचारीहरुले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरुबीच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताउनुभयो । सबैको पहुँचमा सूचना पुग्नेकुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ ।
नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढंगबाट संप्रेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरुसमक्ष पु¥याउँदा नै समाज सही बाटोमा जाने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताउनुभयो । उहाँले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्नसक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुने बताउनुभयो । सञ्चारमाध्यमले स्वच्छ रुपमा अदालतका कुराहरु बाहिर ल्याउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । उहाँले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताउनुभयो । उहाँले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताउनुभयो । उहाँले पत्रकारहरु डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताउनुभयो ।
उहाँले न्यायलयमा धेरै हदसम्म परिवर्तन आएको पनि बताउनुभयो । प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताउनुभयो । उहाँले अहिले झन्डै दुई तिहाईको सरकार बन्न लागेको उल्लेख गर्दै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्नेकुरा सुखद् भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्