काठमाडौं । यस वर्ष नेपालमा मनसुन शुरु भएयताको एक महिनाको अवधिमा गएका २७ बाढी पहिरोले ६० जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । जसमा मनसुनजन्य विपत्तीका कारण ४१९ घटना भएका छन् भने ७२ जना घाइते भए । देशभरका २० भन्दा बढी राजमार्गहरु समेत अवरुद्ध हुन पुगे ।
देश अहिले प्राकृतिक विपत्तीमा परेको छ । देशका अधिकांश जिल्लामा अविरल वर्षासंगै आएको बाढीपहिरोमा धेरै जनधनको क्षति भएको छ । ठाउँ ठाउँमा पहिरो गएर देशका विभिन्न राजमार्गहरु अवरुद्ध बन्दा हजारौं यात्रुहरु अलपत्र परेका छन् । केही दिनदेखि भइरहेको भारी वर्षाका कारण दर्जनौको मृत्यु हुँदा केही बेपत्ता भए भने धेरै घरबारविहीन बनेका छन् । शुक्रबार रातीदेखिको वर्षा शनिबार र आइतबार पनि जारी रहँदा त्यसको असर देशभर पर्यो । राजधानी काठमाडौंमा पनि भारी वर्षाले सडक तथा घरहरुमा भेल पस्दा जोखिम अधिक बढ्यो । भारी वर्षासँगै आएको बाढीले अधिकांश नदी किनारका बस्ती तथा घरहरु डुवानमा परे । काठमाडौैको टेकु दोभान नजिकैको बस्तीमा पानी पस्दा ५० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् । भक्तपुरको मनहरा क्षेत्र पनि हरेक वर्ष र्झै यो वर्ष पनि डुबानमा पर्यो ।
यसैगरि शुक्रबारदेखि शुरु भएको मनसुनी वर्षाले तराईका विभिन्न जिल्लाहरु डुबानमा पर्दा ठाउँठाउँमा गएको पहिरोले थुप्रै विस्थापित भएका छन् । सम्बन्धित निकायले उनीहरुको वैकल्पिक व्यवस्था गरेको बताएपनि उचित व्यवस्थापनको अभावका कारण वृद्धवृद्धा र बालबालिकाको बिचल्ली भएको छ । देशका विभिन्न भूभागहरु अझै उच्च जोखिममा छन ।
यस्तै मनसुनी वर्षासंगै देशभरका नदीहरुको पानीको जलस्तर बढेर बस्तीसम्म प्रवेश गर्दा जीउधनको जोखिम बढेको छ भने कयौं हेक्टर जमीनमा लगाइएको बालीनाली समेत नष्ट भएको छ । वर्षाले रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासीलगायत तराई क्षेत्रको भूभाग पुरै डुबेको छ ।
त्यतिमात्र होइन कर्णाली राजमार्ग ठप्प हँुदा हिमाली जिल्लामा हु्ने खाद्यान्न ढुवानीसमेत ठप्प भएको छ । राजनीतिक संक्रमणका कारण प्रभावितलाई राहत र व्यवस्थापनमा चुनौती देखिए पनि तीनै वटा सुरक्षा निकाय भने उद्धारमा जुटेका छन् । पूर्वी नवपरासीस्थित नारायणी नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । मनसुनी वर्षाको प्रभाव सुदूरपश्चिमका विभिन्न जिल्लामा पर्दा अवरुद्ध बनेको सडक खुलाउने प्रयास पनि जारी नै छ । सबैभन्दा खतराको रुपमा रहेको कोशी प्रदेशका मुख्य नदी तथा खोलाहरूमा जलसतह ह्वातै बढ्दा सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् । अन्य नदीको जलप्रवाह पनि बढ्न पुग्दा क्षतिको जोखिम बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्