Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिकाे अन्त्य हुनुपर्छ: उपाध्यक्ष पन्त


0
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै उपाध्यक्ष पन्तले यस्ताे बताउनुभएकाे हाे। नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्नुभयाे। उहाँले नेपाली समाजमा विभिन्न धर्म मान्ने भएपनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताउनुभएकाे छ। बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उहाँले बताउनुभयाे।

उपाध्यक्ष पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताउनुभएकाे छ। जिनपिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताउनुभयो । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । उहाँले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनुभयो ।

पाध्यक्ष पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्म लगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएकाे छ। विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने समेत बताउनुभयाे। उहाँले ग्लोवल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिनुभएकाे छ।