२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास


260
Shares

न्युज एजेन्सी नेपाल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ ।

मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समिकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् । नयाँ सत्ता समिकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरुलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ ।

दुई ठूला राजनीतिक दलहरुबीचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समिकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले उल्लेख गरे ।

अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको,उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरुको भनाइ छ । व्यवसायीहरुले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायीत्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले राजनीतिसँगै आर्थिक स्थायीत्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राख्नुभयो । उहाँले नयाँ सत्ता समिकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने,आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गर्नुभयो ।

पूर्वअध्यक्ष राणाले केही वर्षदेखि धरासायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भएमात्रै लयमा आउने बताउनु भयो । उहाँले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरु सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समिकरणसँगै चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

राणाले मुख्य भन्सारहरुमा नै राजश्व संकलन कम हुँदै मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्थामा राजनीतिक दलहरुले ठिक समयमा समिक्षा गरेर गरेको गठबन्ध स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । उहाँले सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताउनुभयो । पूर्वअध्यक्ष राणाले ठूला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताउनुभयो ।

पूर्वअध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन÷चार महिनामा परिवर्तन हुर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जानसक्ने बताउनु भयो । उहाँले दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन गर्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राख्नुभयो ।

पूर्वअध्यक्ष राणाले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणले नयाँ परिवर्तन भएको जस्तो आभाष निजी क्षेत्रलाई भएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गर्नुभयो ।

यसैगरि नेपाल चेम्बर अफ कमर्सका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समीकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले दुई ठूला राजनीतिक दलको सत्ता समीकरणका लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायीत्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताउनुभयो ।

उहाँले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समीकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायीत्वलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । मल्लले अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समीकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सवल बाटोमा लैजानुपर्ने बताउनुभयो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताउनुभयो । उहाँले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको दाबी गर्नुभयो । उहाँले नयाँ समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गर्नुभयो । उहाँले स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरु स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताउनु भयो ।

गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरुसमेत फिर्ता गरेको छ । योसँगै दुई ठूला दलको नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ ।