Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रवक्ता विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले शुक्रबार विश्वकर्मालाई गैरकानुनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ–‘निवेदक (विश्वकर्मा)लाई गैरकानुनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानुनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहबरमा छाड्नू ।’

आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ ।

विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथोपटक हो ।

उनलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले कारबाही अघि बढाएको थियो । रासस