११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


सरकारले अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : तोसिमा कार्की


455
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारल ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद कार्कीले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दाखेरी ८६ अर्व २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा २ अर्व २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दाखेरी ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिशत पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ । जुन हामीले पटक पटक भन्दै आएका छौं । तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन । स्वास्थ्य क्षेत्रका सबै लथालिंग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ ।’

सांसद कार्कीले आईटी पार्क बनाउने कुरा असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिनुभयो ।