
काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानुन मन्त्रालयमा बस्ने कार्यदलका संयोजक एवं कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो । आजको बैठकले कार्यादेश टुंग्याएर छानबिन समिति गठनको वातावरण बनाउने दाबी दलहरुले गरेका छन् ।
सहकारी बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस सहमतिउन्मुख देखिएका छन् । संकटग्रस्त सहकारीको नाम उल्लेख गरी बचत हिनामिना गर्ने व्यक्ति र संस्थामाथि छानबिन गर्ने गरी समितिको क्षेत्राधिकारमा समझदारी जुटेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको बैठकले कार्यादेशमा समझदारी गरेको हो । सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख नहुने भए पनि उनी तत्कालीन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गर्ने र उक्त कम्पनीमा सहकारीको रकम अपचलन गर्नेमाथि छानबिन गर्न दुवै पक्ष सहमत भएका छन् ।
सात सदस्यीय छानबिन समिति बन्नेछ । सत्तापक्ष र विपक्षी दलबाट तीन–तीन जना सदस्य हुनेछन् भने सत्तापक्षका संयोजक हुनेछन् । समितिलाई छानबिनका लागि तीन महिनाको समयावधि दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्