११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै


624
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । यस प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ ।

गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य र एक स्वतन्त्र गरि मुख्यमन्त्रीलाई २८ जना प्रदेश सभा सदस्यको समर्थन भएको हुँदा मुख्यमन्त्री सोडारीको पक्षमा बहुमत पुग्ने देखिन्छ ।