१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


सकिँदै सडक पेटी, हराउँदै पैदलमार्ग


0
Shares

काठमाडौं । काठमाडौंमहानगर जस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।

पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनैपनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो  । तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडकपेटीको अवस्था बेग्लै छ ।

सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराईरहेका छन् ।

राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन  । सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स—साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् ।

एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठिक विपरित पाइन्छ ।