काठमाडौं । समाज कल्याण परिषद्ले विभिन्न कालखण्डमा भाडामा दिएको भृकुटीमण्डपस्थित विभिन्न संरचनाको भाडा बापतको रकम करोडौं उठ्न बाँकी रहेको छ । परिषद् अन्तर्गत रहेका भृकुटीमण्डपभित्रका घर तथा टहराहरु भाडामा लगाएको रकम नउठेपछि परिषद्ले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने म्याद दिएको छ ।
भृकुटीमण्डपमा परिसरभित्र रहेको खुला बजारमा १३ सय वटा पसल, ६० वटा स्टल, ३२ वटा टहरा रहेका छन् । यी मध्ये अधिकांशले कोभिडपछि भाडा नै तिरेका छैनन् । सार्वजनिक पुस्तकालयको सवैभन्दा धेरै १ करोड ७५ लाख रुपैयाँ भाडा उठाउन बाँकी छ भने ऋषि धमलाको रिपोर्टर्स क्लबले पनि ८० लाख रुपैयाँ तिर्न बाँकी छ । यस्तै राष्ट्रीय अपाङ्ग कोषको ८० लाख, बालबालिकाका लागि गैरसरकारी संस्था महासंघको ५० लाख, उपभोक्ता महासंघको ३४ लाख र गणेशमान अध्यन प्रतिष्ठानको २० लाख रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । परिषद्का प्रवक्ता राजकुमार मल्लिकले अहिलेसम्म ६ करोड रुपैयाँ बढी रकम उठाउन बाँकी रहेको बताउनुभयो ।
सार्वजनिक सम्पत्ति ओगटेर बस्ने तर भाडा नतिर्नेहरु सबै राजनीतिक पहुँचका व्यक्ति तथा संस्थाहरु रहेका छन् । भाडा तिर्न पटक-पटक ताकेता गर्दा पनि उनीहरुले अटेर गरेपछि नेपाल सरकारलाई पनि गुहार्ने निर्णय गरिएको पनि प्रवक्ता मल्लिकले बताउनुभयो ।
भृकुटीमण्डप जस्तो राजधानीको केन्द्र भागमा रहेको सार्वजनिक सम्पति प्रयोग गर्ने तर भाडा नतिर्नु आफैमा लज्जाको विषय हो । भाडा रकम करोडौं पुगुन्जेल कानमा तेल हालेर सुत्ने परिषद्को रवैया पनि उत्तिकै दोषी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्