२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


लमजुङमा बाढी–पहिरोको वितन्डा, चारजनालाई बाढीले बगायो, केही घाइते


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, भदौ २७ । मंगलबारदेखि परेको अविरल वर्षापछि लमजुङका विभिन्न स्थानमा बाढी–पहिरोको त्रास छ ।

बाढी–पहिरोमा परी चारजना बेपत्ता भएका छन् । आधादर्जन व्यक्ति घाइते भएका छन् ।

बेसीसहर नगरपालिका–१०, चितिमा निर्माणाधिन तल्लो दोर्दी आयोजनामा काम गर्दै गरेका बलिराम चौधरी र लक्ष्मण थारुलाईे मर्स्याङ्दीको भेलले बगाएको हो ।

दोर्दीमा एक्कासि बाढी आएपछि उनीहरुलाई बगाएर मर्स्याङ्दीमा मिसाएको थियो ।

उत्तरी क्षेत्रको मर्स्याङ्दी गाउँपालिका–३, अर्खलेबेसीमा बुधबार दिउँसो गएको पहिरोमा परी दुईजना बेपत्ता भएका छन् ।

सोही ठाउँमा तीनओटा घर पहिरोले बगाएको छ । स्थानीय बलबहादुर गुरुङकाअनुसार स्थानीय ललितमाया गुरुङ र जगत गाउँका नाम नखुलेका एक वृद्धलाई पहिरोले बगाएको छ ।

मर्स्याङ्दी–३, खुदी–पल्लोटारीमा पहिरोले परिँदा दुईजना गम्भीर घाइते भएका छन् । ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा लगिएको हो । उद्धारमा खटिएका प्रहरीकाअनुसार उनीहरुको अवस्था चिन्ताजनक छ ।

पहिरो झर्दैगर्दा घर छाडेर भाग्दाभाग्दै उनीहरु पुरिएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

भारी वर्षापछि बेसीसहर–चामे सडकखन्डको अर्खलेबेसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करिब आधादर्जन घर बगाएको स्थानीयले बताएका छन् ।

पहिरो र खहरेखोला उर्लंदा बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङले राबजारमा दुईओटा घर बाढीले बगाएको बताए । स्थानीय बलबहादुर गुरुङको एउटा ट्याक्टर बाढीले बगाएको छ । यस्तै, एक व्यक्तिको मोटरसाइकलसमेत बगाएको उनले बताए ।

यस्तै, स्याँगेमा दर्जनौं बाख्रा पहिरोले बगाएको स्थानीयले बताएका छन् । मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा तीनओटा घर पहिरोले बगाएको छ ।

बेसीसहर–चामे सडकखन्डको काप्रेभीरमा एउटा जिप पहिरोले पुरेको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दी नदीमा अस्वाभाविकरुपमा पानीको बहाव बढेको बताए । स–साना खहरेखोलामासमेत बाढी आएको, ठाउँठाउँमा पहिरो झरेका कारण स्थानीयलाई आवातजावत गर्न समस्या भएको उनले बताए ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ र ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले बाँधका तीनओटै ढोका खोलेका छन् ।