२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


इलामको फाकफोकथुम गाउँपालिका अझै जोडिएन कालोपत्रे सडकले


65
Shares

इलाम । पश्चिमीे इलामको फाकफोकथुम गाउँपालिका अझै पनि कालोपत्रे सडकले जोडिएको छैन । ५ सय किलोमिटर सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति हुन सकेको छैन । झापा र इलाम सदरमुकाम जोड्ने कच्ची सडकका कारण फाकफोकथुमबासी आफुले उत्पादन गरेको कृषि उपज बजार पु¥याउन समस्या भोग्न बाध्य छन् ।

फाकफोकथुम गाउँपालिकामा हिउँदका ८ महिना यातायातका साधनबाट यात्रा गर्न सकिने भएपनि वर्षा याममा भने सम्भव हुँदैन । गाउँपालिकाबाट सदरमुकाम इलाम बजार र झापाको दमक बजार जोड्ने सडकहरु कच्ची छन् । जसका कारण पश्चिम इलामको फाकफोकथुम गाउँपालिका वर्षातका ५ महिना समुद्रको टापु सरह हुनेगर्छ ।

जिल्लाका ६ वटा गाउँपालिकामध्ये फाकफोकथुम सबैभन्दा ठुलो हो । ७ वटा वडा रहेको फाकफोकथुममा हिउँद वर्षातनै सवारीसाधन संचालन गर्न अहिले सडक सोलिङ गर्ने कामले प्राथमिकता पाएको छ । हिउँद वर्षातमा सवारीसाधन संचालनका लागि सडक सोलिङ गरि स्तरउन्नती गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो ।

फाकफोकथुममा ५ सय १६ किलोमिटर कच्ची सडक रहेको छ । जसमध्ये ५ वटा रणनैतिक सडक छनौट भएका छन् । नयाँ ट्रयाक नखन्ने नीति लिएको गाउँपालिकाले रणनैतिक सडकहरु सोलिङ गरि १२ महिना यातायात संचालन गर्ने योजना बनाएको छ ।

१ सय ७७ वटा सडक रहेको फाकफोकथुममा ए ग्रेडमा २६ वटा, बी ग्रेडमा ५५ वटा र सि ग्रेडमा ९६ वटा सडक छनौट भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा ५ किलोमिटर सडक सोलिङ गरि १२ महिना गाडी गुडाउन मिल्ने भएका छन् । वडाबाट गाउँपालिका जोड्ने ८ वटा सडकलाई प्राथमिकता दिएर सोलिङ गर्ने काम हुँदै आएको उपाध्यक्ष कल्पना राईले बताउनुभयो ।

फाकफोकथुमबासीको मुख्य बजार झापाको दमक, बिर्तामोड र इलाम सदरमुकाम हो । मुख्य बजार जोड्ने सडकहरुमा १२ महिना नै गाडि संचालन नहुँदा किसानले उत्पादन गर्दै आएको कृषि उपजले बजार पाउन सकेको छैन ।