दमक, भदौ २६ । झापाको कमल गाउँपालिका–६, मंगलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगन्जमा मृत फेलापरेका छन् ।
गौरीगन्ज वडा नम्बर–६, बाहसुद्दीस्थित विनोद यादवको धानखेतनजिक नालामा मंगलबार बिहान उनको शव फेलापरेको गौरीगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।
घटनास्थलमा मे प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल, ब्यागसमेत फेलापरेको छ ।
सोमबार बेलुका पौडेल उनकी श्रीमतीसँगै गौरीगन्ज बजार आएका थिए । साँझ करिब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा ‘एकछिन बस्नू’ भनी हिँडेका पौडेल राति ९ बजेमात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेलापार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ ।
उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्