काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सो सहकार्यसम्बन्धि सम्झौंता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउने मुख्य उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यको हात अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले सो अवसरमा अथाह सम्भावना भएको सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न सबै लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो । सुदूरपश्चिम प्रदेश अथाहा सम्भावनाको क्षेत्र भएकाले यसको समृद्धिमा सबैले साथ दिने मुख्यमन्त्री शाहको विश्वास थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्य सम्बन्धि समझदारी पत्रलाई परिणाममुखि बनाउने गरी महासंघले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई नै समृद्ध बनाउने महासंघको पनि अभियान भएकाले सोही विषयमा सहकार्य गर्ने अवसर दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारप्रति आभार पनि व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले त्यस क्षेत्रको समृद्धिका लागि लगानी जुटाउने उद्देश्यका साथ आगामी फागुन २३ र २४ गर्ते प्रदेश लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शाहले सो सम्मेलनलाई परिणाममुखि बनाउन नेपाल उद्योग वाणिज्य संघसँगको सहकार्य सार्थक हुने बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्