Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


सुदूरपश्चिमको जीवन्त मौलिक गौरा पर्व आजदेखि विधिवत रूपमा शुरू


0
Shares

डडेल्धुरा। सुदूरपश्चिमको जीवन्त मौलिक गौरा पर्व मंगलबारदेखि विधिवत् रूपमा शुरुवात भएको छ।

भाद्र शुक्लपक्ष पञ्चमीदेखि शुरु हुने यो पर्व मंगलबार पहिलो दिन घरघरमा बिरुडा राखि मनाइँदै छ। साेही दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ।पञ्चमी तिथिको दिन बिहानै देखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा विधिवत रुपमा भिजाई गौरापर्व प्रारम्भ भएको मान्ने परम्परा रहिआएको हाे।

पञ्चदलहन गहत मास केराउ कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोलि पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर धोई पखाली घरमा ल्याउने प्रचलन रहेको छ।

वैदिककालमा हैहयवंशीका शुरबीरहरुको अत्याचारबाट भृगुवंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभावले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्ध खानपान, चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पञ्चमीका दिन विधिवत रुपमा प्रसाद राखिएको पाँच दलहनको बिरुडा धुने, पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउँछन ।

पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई गौरा माताको प्रतिकको रुपमा भित्र्याउदै गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहँदै आएको हाे । सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसँग गांसिएको महिलाहरुको महत्वपूर्ण महान गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पञ्चमीदेखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदासम्म एक हप्ता भव्यताका साथ मनाइन्छ ।

यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाइन्छ। गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि विशेष गरि मनाइन्छ ।
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको साँस्कृतिक सम्पदाको रुपमा रहेको हाे।

साेही पर्वमा परम्परादेखि चलीआएका फाग, अठवाली र पुरुषहरुको चैत धुमारीका साथै डेउडा खेलेर धुमधामका साथ मनाइने परम्परा रहेकाे छ।