Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


सुदूरपश्चिममा आज गौरा पर्व मुख्य दिनका रूपमा मनाइँदै

गाउँ-बस्तीमा अठेवाली र देउडाको रौनक

247
Shares

प्रकाश भट्ट-संवाददाता

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक धार्मिक तथा साँस्कृतिक पर्व गौरा शुक्रबार अष्टमी अर्थात् गौरा पर्वको मुख्य दिनका रूपमा मनाइँदै छ ।

भाद्र कृष्ण पञ्चमीका दिन बिरुडा भिजाएर शुरु भएको यस वर्षको गौरा पर्व षष्ठीमा बिरुडा पखाली न्वालाकी गौरा र सप्तमीका दिन गौरा पर्वको मुख्य धार्मिक विधिअन्तर्गत गौरा(महेश्वरको विधिपूर्वक पूजाआजा गरिएको थियो । धार्मिक आस्था, पारिवारिक सुख(शान्ति, सामाजिक सद्भाव र सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई एउटै सूत्रमा जोड्ने गौरा पर्वको मुख्य दिन शुक्रबार गाउँ-बस्तीमा पूजा, अठेवाली र देउडाको रौनक छाएको छ ।

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;

गौरा पर्वसँग जोडिएको धार्मिक तथा मौलिक मान्यता अनुसार, पञ्चमीका दिन गहुँ, गहत, गुरुँस, मास र सानो प्रकारको केराउ मिसाएर पाँच प्रकारका अन्नबाट बिरुडा तयार गरी तामाको भाँडामा भिजाउने परम्परा छ। यहि कारण पञ्चमीलाई बिरुडा पञ्चमी पनि भनिन्छ । पञ्चमीका दिन भिजाइएको बिरुडालाई षष्ठीका दिन धारा, न्वाला, मुहान वा कुवाजस्ता पवित्र जलस्रोतमा लगेर पखाल्ने तथा शुद्ध पार्ने गरिन्छ ।

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;

सप्तमीका दिन गौरा देवीको प्रतिमा तयार गरी गौरा घर वा मन्दिरमा भित्र्याएर पूजा-आजा गर्ने परम्परा छ । साेही क्रममा व्रतालु महिलाहरूले गौरा देवीसँगै महेश्वरको समेत पूजा गर्ने गर्छन् । गौरा पर्वको अष्टमीलाई विशेष महत्त्वका साथ लिइन्छ। अघिल्लो दिन गौरा घर वा मन्दिरमा भित्र्याएर पूजा गरिएको गौरा-महेश्वरको प्रतिमूर्तीलाई अष्टमीका दिन गौरा राख्ने आँगन अर्थात् गौरा खलामा ल्याएर गौरा(महेश्वरलाई विधिपूर्वक स्थापना गरी अठेवाली वाचन गर्ने गरिन्छ ।

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;

अघिल्लो दिन सप्तमीमा गौरा(महेश्वरको प्रतिमूर्तिसँगै राखी पूजा गरिएका नयाँ कपडा र पवित्र धागोबाट तयार पारिएको दुब्धागोलाई विधिपूर्वक अभिमन्त्रित गरी व्रत बसेका तथा परम्परा अनुसार गौरा पर्वमा सहभागी महिलाले धारण गर्ने चलन छ । धार्मिक मान्यता अनुसार दुब्धागो धारण गर्नु महिलाको धार्मिक संस्कार र गौरा पूजासँग जोडिएको महत्त्वपूर्ण विधि मानिन्छ । कतिपय समुदायमा दुब्धागो धारण नगरेका महिलाले भातभान्सा गर्न तथा गौरा पूजा गर्न नहुने पुरानो मान्यता पनि पाइन्छ।

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;

गौरा पर्व धार्मिक आस्थासँग मात्र सीमित छैन । यसले सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र सामाजिक जीवनलाई समेत जीवन्त बनाएको हाे । अष्टमीका दिन गौरा(महेश्वरको पूजा गर्दै अठेवाली, फाग तथा गौराको गीति कथा गाउने परम्परा छ । अठेवाली गौरा पर्वको विशिष्ट मौखिक सांस्कृतिक परम्परा हो । धार्मिक आख्यान, देवीदेवताका कथा, सामाजिक जीवन र लोकअनुभूतिलाई गीत तथा कथाका माध्यमबाट पुस्तौँदेखि हस्तान्तरण गरिँदै आएको छ।

गौरा पर्वका अवसरमा टाढाटाढा रहेका आफन्त तथा परिवारका सदस्यसमेत घर फर्कने भएकाले यसले पारिवारिक भेटघाट र सामाजिक पुनर्मिलनको अवसरसमेत प्रदान गर्छ। परिवार तथा आफन्तहरू सबैलाई व्रतालु महिलाहरूले बिरुडा-दुबोले पुज्ने र प्रसादका रूपमा दिने समेत गरिन्छ । साथै ठूलाबडालाई ढोग्ने, आशीर्वाद लिने तथा आफन्त र छरछिमेकबीच शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक सद्भावलाई थप बलियो बनाउँछ ।

गौरा पर्वको अर्को प्रमुख आकर्षण देउडा हो । गौरा पर्व सुरु भएसँगै विभिन्न स्थानमा देउडा खेल्न थालिन्छ । विशेषगरी अष्टमीपछि देउडाको रौनक अझ बढ्ने गर्छ । देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक जीवनका विविध पक्ष प्रस्तुत गरिन्छन् । चैतली, धुमारी, ढुस्को लगायतका स्थानीय भाकामा गीत गाउने र देउडा खेल्ने परम्परा रहेको हाे । देउडा मनोरञ्जनको माध्यम मात्र होइन । यसका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, राजनीतिक तथा समसामयिक विषयमाथि व्यङ्ग्य गर्ने, सुख(दुःख साटासाट गर्ने र सामाजिक सम्बन्धलाई बलियो बनाउने गरिन्छ ।

गौरा पर्व सुदूरपश्चिमका प्रायः सबै जिल्लामा विशेष रूपमा मनाइन्छ । सुदूरपश्चिमसँगै भारतको उत्तराखण्डका कुमाउ र गढवाल क्षेत्रमा समेत स्थानीय धार्मिक तथा साँस्कृतिक परम्पराअनुसार गौरा मनाउने चलन रहेको छ । गौरा पर्व भाद्र कृष्ण वा शुक्ल पञ्चमीबाट शुरु हुने परम्परा ठाउँ र वर्षदअनुसार फरक पर्न सक्छ । यस वर्ष भने गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि शुरु भएको हो । पर्वको विसर्जन गर्ने समय र विधि समेत समुदाय तथा स्थान अनुसार फरक-फरक रहेको पाइन्छ ।

गौरा पर्वमा महिलाको धार्मिक सहभागिता, शिव-पार्वतीसँग जोडिएको आस्था, बिरुडा, दुब्धागो, अठेवाली, फाग, माङ्गलिक गीत र देउडासम्मका मौलिक परम्परा समेटिएका छन् । त्यसैले गौरा सुदूरपश्चिमको एउटा धार्मिक पर्व मात्र नभई यहाँको मौलिक संस्कृति, सामाजिक सम्बन्ध र सामुदायिक पहिचानको जीवन्त प्रतीकका रूपमा स्थापित छ। तर आधुनिक जीवनशैली, बसाइँसराइ तथा नयाँ पुस्तामा परम्परागत संस्कार तथा लोकसंस्कृतिप्रतिको घट्दो रुचिका कारण गौरा पर्वका मौलिक विधि र परम्परा संरक्षणको चुनौतीसमेत बढ्दै गएको हाे ।

पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको गौरा संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु अहिलेको महत्त्वपूर्ण आवश्यकता बनेको छ ।