Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


३ दिनदेखि अवरूद्ध बाजुराको साँफे-मार्तडी सडक सञ्चालनमा

अवरूद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पनि आजै सुचारू गरिंने

156
Shares

काठमाडाैं । बाजुरामा पहिरोका कारण ३ दिनदेखि अवरुद्ध बाजुरास्थित साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ।

भारी वर्षापछि गत शनिबार उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको हो । बडीमालिका नगरपालिका-६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडकमा पूर्ण रूपमा यातायात ठप्प भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएर मंगलबारदेखि सडक सञ्चालनमा ल्याइएको जनाएकाे छ। सदरमुकामनजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का-बिरेखोला लगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो।

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोडनजिकै सडकमा ठूलो ढुंगा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रक लगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाजुराले सोही ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको जनाएकाे हाे।

गत शनिबार रातिको अविरल वर्षापछि पहिरोले विद्युतका ३२ वटा खम्बा ढलेको थियो । जसका कारण बाजुरा जिल्लाभर अवरुद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा मंगलबार साँझसम्म सुचारु गर्ने गरी काम भइरहेको छ।