काठमाडौ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशिलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याइ पु¥याएको स्पष्ट पार्नुभयो ।
मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु बर्तमान पुस्ताको बोझ नभइ आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउँनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकमा हुने एक्लोपन हटाउन तथा तेश्रो पुस्तामा ज्येष्ठ नागरिकहरुप्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको मातृ देवो भव पितृ देवो भवको आदर्शलाई आत्मसात गर्दै जेष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री आचार्यले ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको पनि बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्