१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा चितवन अदालतबाट १२ जनालाई सफाइ


0
Shares

चितवन, भदौ २४ । चितवन जिल्ला अदालतबाट गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दाको फैसला भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्या प्रकरणमा आज फैसला सुनाएको हो ।

अदालतको फैसला अनुसार १३ जना प्रतिवादीमध्ये १२ जनाले सफाइ पाएको अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए । सफाई पाउनेमा हाल काठमाडौं कारागारमा रहेका छविलाल पौडेलसहित रामप्रसाद अधिकारी (क) र (ख), कालीप्रसाद अधिकारी, सिता तिवारी, सुभद्रा तिवारी, विष्णु तिवारी लगायत रहेको उनले बताए ।

यस्तै फरार सूचीमा रहेका प्रतिवादी रुद्र आचार्यको हकमा पछि फैसला गरिने अदालतले जनाएको छ ।

गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । कृष्णका दाजु र बाबुले हत्याकाबिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीबिरुद्ध कुनै कारवाही भएको थिएन ।

कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने÷नचल्ने भन्ने विषयमा विवाद उठेको थियो । कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भइसकेको छ । आमा गंगामाया पनि लामो समय अनशन बसिन् । अनशनका क्रममा निधन भएका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन ।

सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ ।

गोरखा फुजेल प्रकरणका तानिएका आरोपित छविलाल पौडेललाई आजैबाट थुनामुक्त गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

सफाइको फैसलालगत्तै चितवन अदालतले कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई पत्र लेख्दै थुनामा रहेका पौडेललाई थुनामुक्त गर्न आदेश दिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘नन्दप्रसाद अधिकारीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी छविलाल पौडेल समेत भएको कर्तव्य ज्यान मुद्दामा आज यस अदालतबाट प्रतिवादी छविलाल पौडेल समेतलाई प्रस्तुत मुद्दाको अभियोग दावीबाट सफाइ पाउने ठहरी फैसला भएको हुँदा सम्मानित सर्वोच्च अदालतको २०७५ असार २४ को पत्रले प्रस्तुत मुद्दाबाट थुनामा रहेका प्रतिवादी छविलाल पौडेललाई अन्य व्यहोराले थुनामा राख्नु नपर्ने भए प्रस्तुत मुद्दाबाट आजै थुनामुक्त गरिदिनु हुन अनुरोध गरिन्छ ।’ 

चितवन जिल्ला अदालतको पत्रमा सर्वोच्च अदालतलाई बोधार्थ दिईएको छ ।