१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


नवलपरासी महिला संघमा विवाद


1.001k
Shares

नवलपरासी । केन्द्रले अध्यक्ष मनोनित गरेर पठाएपछि नवलपरासी महिला संघमा विवाद भएको छ ।

महिला संघ केन्द्रीय समितिले अध्यक्षमा तारा भण्डारीलाई मनोनित गरेर पठाएपछि असन्तुष्ट पक्षले छुट्टै समिति गठन गरेको हो ।

महिला संघकी जिल्ला अध्यक्ष कमला तिवारी केन्द्रीय सदस्य भएसँगै जिल्ला नेतृत्व रिक्त थियो । जिल्ला समिति लामो समयदेखि नेतृत्वविहीन भएको भन्दै केन्द्रले भण्डारीलाई मनोनित गरेर पठाएको हो ।

जिल्लामा नेपाली कांग्रेसका दुई गुट छन् । मनोनित भण्डारी संस्थापन पक्षकी हुन् । गुटकै कारण संस्थापनइतर पक्षले मिठु केसीको अध्यक्षतामा १५ सदस्यीय अर्को जिल्ला तदर्थ समिति गठन गरेको छ ।

केसी जिल्ला महिला संघकी उपाध्यक्षसमेत हुन् । जिल्ला अध्यक्ष केन्द्रमा गइसकेपछि उपाध्यक्षलाई कार्यवाहक दिनुको सट्टा गुटकै कारण जिल्ला समिति नेतृत्वविहीन बनाएको संस्थापनइतर पक्षको आरोप छ ।

जिल्लामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका महामन्त्री विक्रम खनाल र केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको गुट छ । कँडेल संस्थापन पक्षका हुन् भने खनाल इतर पक्षका हुन् ।

यी दुई नेताका कारण जिल्लामा सधैं गुटगत विवाद हुने गरेको छ ।