Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


राकेश अदुकियाको घरमा र रेडी ट्रेडर्समा छापा


4.4k
Shares

काठमाडौं । एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा र व्यापारी राकेश अदुकियाको घरमा राजस्व अनुसन्धान विभागले बुधबार छुट्टाछुट्टै रुपमा छापा मारेको छ ।

विभागले एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाममा र सुन प्रकरणको प्रमुखको रुपमा आशंका गरिएका व्यापारी राकेश अदुकियाका कमलपोखरीस्थित घरमा छापा मारेको हो ।

छापा मार्ने क्रममा गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरिएको छ । विभागले रेडी ट्रेडसको नाममा २ साउन अघिका विभिन्न मितिमा आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद गरेको हो । सो क्रममा ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन सोह्रखुट्टेको गोदामबाट बरामद गरिएको थियो ।

राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त अपरेसन गर्दै सो ‘ब्रेक शु’बरामद गरेको हो । छापा मार्दा भेटिएका सबै सामान राजस्व अनुसन्धान विभागले लगेको छ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अदुकियाको घरमा छापा मारेको छ । अदुकिया र उनका छोराले तस्करीको सुन बरामद भन्दा केहीसमय हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।