१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


फोहोर व्यवस्थापन चुनौतिपूर्ण


195
Shares

काठमाडौं । ट्राफिक र फोहोर व्यवस्थापन विश्वकै लागि चुनौति बन्दै गएको छ । विश्वमा उत्पादित प्लास्टिक झोलामध्ये आधा झोला एकपटक मात्र प्रयोग हुन्छन् । यो क्रम नरोकिने हो भने सन् २०५० सम्ममा महासागरमा माछाभन्दा प्लास्टिक बढी हुने भन्दै संयुक्त राष्ट्र संघले सचेत गराएको छ ।

फोहोर व्यवस्थापनको समस्याले नेपाललाई मात्र नभई विश्वलाई गाँज्दै लगेको छ । कतै घरेलु फोहोरको समस्या छ भने कतै अस्पतालजन्य हानिकारक फोहोर त कतै विद्युतजन्य फोहोरको । यससँगै उद्योगजन्य फोहोरको समस्या पनि कम छैन । व्यक्तिको खर्च गर्न सक्ने क्षमताका आधारमा फोहोरको मात्रा निर्धारण हुने गरेको छ ।

प्रतिव्यक्ति आय धेरै भएका देशमा फोहोरको परिमाण धेरै छ । ती देशमा जैविक फोहोरको मात्रा कम विकसित देशको तुलनामा कम नै उत्पादन हुन्छ ।

एक व्यक्तिले औसतमा प्रतिदिन ०.७४ किलोग्राम फोहोर उत्पादन गर्छ । विश्वव्यापी उत्पादन हेर्दा सबैभन्दा बढी ४४ प्रतिशत जैविक प्रकृतिको फोहोर र सबैभन्दा कम रबर तथा छालाजन्य र काठजन्य फोहोर २÷२ प्रतिशतले उत्सर्जन भएको देखिन्छ । दक्षिण एसियाली मुलुकमा जैविक फोहोरको मात्रा ५६.५ प्रतिशत, रबर र छालाजन्य फोहोर १.६ र काठजन्य फोहोर १.५ प्रतिशत उत्सर्जन हुने गरेको विश्व बैंकको सन् २०१८ को तथ्यांकले देखाउँछ ।

फोहोर व्यवस्थापनको विश्वव्यापी पक्षलाई हेर्ने हो भने करिब ३३ प्रतिशत वातावरणमैत्री छैन । यसलाई कम विकसित देशमा ल्याएर हेर्ने हो भने करिब ९३ प्रतिशत फोहोरलाई खुला स्थानमा थुपारेर, पुरेर वा बालेर तह लगाउने गरिएको देखिन्छ । ती देशका नगरले वार्षिक बजेटको औसतमा २० प्रतिशत रकम फोहोर व्यवस्थापनमा खर्च गर्दछन् ।

मानिस दिन–प्रतिदिन सम्पन्न बन्न खोज्छ । उ गाउँबाट सहरमा बस्न जान्छ । यो क्रम विकासोन्मुख राष्ट्रमा धेरै हुन्छ । त्यसैले यस्ता देशमा फोहोर उत्पादन बढेर व्यवस्थापकीय समस्या पनि बढ्दै छ । यसभन्दा जटिल त फोहोर ओसार–पसार हो । कम्प्युटर, मोबाइलजस्ता उपकरणहरू विकसित देशमा चलाउन नमिल्ने भएपछि विकासशील देशमा पठाउने चलन बढेपछि कम विकसित मुलुक फोहोरको थुप्रोले पुरिँदै जाने खतरा बढेको हो । अर्कोतिर प्लास्टिकलाई फोहोरको पर्याय मान्न थालिएको छ । एकथरी मानिस प्लास्टिक समस्या होइन, व्यवस्थापकीय कमजोरी समस्या हो भनिरहेका छन् भने अर्काथरी मानिस माटोमा नमिल्ने, नकुहिने भएकाले प्लास्टिक उत्पादन नै समस्या हो भनिरहेका छन् ।

फोहोर व्यवस्थापनका लागि नेपालका स्थानीय सरकारलाई जिम्मेवारी दिइएको छ । त्यसअनुसार नगरले स्रोत छुट्याएका छन् । काम गर्न पनि छाडेका छैनन् । तर, पनि फोहोर व्यवस्थापनको पक्षमा सकारात्मक परिणाम पाउन सकेको छैन ।

आजभन्दा ५० वर्षअघि काठमाडौंका मानिस एक टिन फोहोर ५० पैसामा बिक्री गर्थे । त्यसवेलाको ५० पैसा अहिलेको ५०० रुपैयाँ हो । यसबाट के थाहा हुन्छ भने, त्यसवेलाका मानिसलाई फोहोर फाल्ने होइन, पाल्ने वस्तु हो भनेर राम्ररी थाहा थियो । उनीहरू आफूमा भएको चेतनाबमोजिम काम गर्थे, त्यसैले त्यसवेला फोहोर व्यवस्थापनको समस्या थिएन । समय परिवर्तन भयो । पुस्ताका कुरा बिर्सिएर अर्कै बाटो लाग्यौँ । अहिले त्यो बाटो गलत भएको सिद्ध मात्र भएको छैन, दशकौंदेखि फोहोरलाई राजनीतिको नाफाघाटा हिसाब मिलानको साधन बनाइनु दुःखद् हो ।