प्रकाश लिम्बु, तेह्रथुमबाट । गुराँसको राजधानी भनिने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला गुराँस फुलेर दुलहीझैं सिंगारिएको छ ।
वसन्त ऋतुको आगमनसँगै २८ प्रजातिका गुराँसले ढकमक्क ढाकिएका डाँडाकाँडा नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । तर, क्षमताभन्दा बढी पर्यटक पुगेपछि धेरैले बास नपाएर फर्कन बाध्य हुनुपरेको छ ।
’गुराँसको राजधानी’ भनिने टीएमजे क्षेत्रमा यतिबेला प्रकृतिको अनुपम वैंश चढेको छ । राता, गुलाबी र सेता गुराँसको मनमोहक दृश्यले तीनजुरे पाथिभरादेखि पाँचपोखरीसम्मका वनजंगल रंगीन बनेका छन् ।
यो सौन्दर्यमा रमाउन नेपालका विभिन्न भागका साथै छिमेकी देश भारतको सिक्किम, दार्जीलिङ र पश्चिम बंगालबाट समेत पर्यटकहरूको लर्को लागेको छ ।
वसन्तपुर, देउराली, चौकी र गुफा बजारका होटल तथा होमस्टेहरू अहिले पर्यटकले भरिभराउ छन् । सडक पहुँच सहज भएकाले साना–ठुला सवारीमा आउने पर्यटकको संख्या बढे पनि पर्याप्त पूर्वाधार नहुँदा बास बस्न समस्या देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्