
काठमाडौं, भदौ २२ । अंग्रेजी भाषाको प्रयोग बढेका कारण नेपाली भाषा कमजोर हुँदै गएको भन्दै भाषाविद्हरुले गुनासो गरेका छन् ।
भाषा आयोग दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शुद्धरुपमा नेपाली लेख्न र बोल्नै छाडिएको भन्दै उनीहरुले दुःख व्यक्त गरे ।
भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेलले त्रिभुवन विश्वविद्यालयले पठनपाठन नेपाली भाषामा गर्ने तर प्रश्नपत्रचाहिँ अंग्रेजीमा सोध्नु गलत भएको बताए ।
निजी विद्यालयहरुले विद्यालय परिसरमा नेपाली बोल्दा विद्यार्थीहरुलाई दन्ड दिने गरेको भन्दै पोखरेलले विद्यालयहरुलाई त्यस्तो अधिकार कसले दियो ? भन्ने प्रश्न गरे ।
कार्यक्रममा अर्का भाषाविद् प्रा. डा. चूडामणि बन्धुले भाषामा पूर्णरुपमा एकरुपता हुन नसक्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सरकारले भाषा आयोगले दिएको सुझावअनुसार भाषासम्बन्धी नीति–नियम बनाउनुपर्ने बताए ।
कार्यक्रमका अरु सहभागीहरुले नेपाली भाषाको शुद्ध प्रयोग हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाली सन्चारमाध्यमहरुले प्रयोग गर्ने भाषाशैलीमासमेत व्यापक खोट रहेको प्रतिवेदनसमेत सो अवसरमा सार्वजनिक गरिएको थियो ।
सन्चारमाध्यमहरुमा अंग्रेजी प्रयोग बढेको र नेपालीको शुद्ध उच्चारणसमेत नभइरहेको प्रतिवेदनमा उल्लेख छ ।
भाषा आयोगले भाषाका आधारमा भेदभाव गर्न नहुने, लोपोन्मुख भाषाहरुको संरक्षण गर्नुपर्ने, भाषा संग्रहालय तथा अभिलेखालयको स्थापना, सन्चारमाध्यममा भाषाको प्रयोग, नैतिक शिक्षा र सामाजिक शिक्षाको पठनपाठन नेपाली भाषामा नै गर्नुपर्नेलगायतका सुझाव सरकारलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्