
काठमाडौं, भदौ २१ । नेपालले भुटानमाथि प्रभावशाली जित दर्ता गरेको छ । जितसँगै नेपालको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित रहेको छ ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार भएको खेलमा नेपाल ४–० ले विजयी भयो ।
खेलको २१औं मिनेटमा अनन्त तामाङको गोलमार्फत् नेपालले अग्रता लिएको थियो । सुनिल बलको कर्नर प्रहारमा अनन्तले हेडिङमार्फत् उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
खेलको ६९औं मिनेटमा भुटानका निमा वाङ्दी दोहोरो पहेंलोकार्ड खाँदै बाहिरिएपछि भु्टान १० जनामा समेटियो । यही अवसरमा नेपालले पेनाल्टी हान्ने मौका पायो ।
बिमल घर्तीमगरको पेनाल्टी प्रहारलाई विपक्षी गोलकिपरले बचाउँदा फर्किएको बललाई सुनिल बलले गोलमा बदलेपछि नेपालले आफ्नो अग्रता दोब्बर पार्यो ।
७९औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । अन्जन विष्टको ठाउँमा मैदानमा प्रवेश गरेका भरत खवासले उक्त गोल गर्दै नेपालको जित पक्का गरेका हुन् ।
यस्तै, ८८औं मिनेटमा अर्का ‘सब्स्टिच्यूट’ खेलाडी निराजन खड्काले एक गोल थप्दै नेपाललाई ४–० ले विजयी गराए ।
साफ सुजुकी कप फुटबलको सेमिफाइनल प्रवेशका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो ।
नेपाली टोलीको सुरुआती ११ मा परिवर्तन
प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार नेपाली टोलीको सुरुआती ११ मा केही परिवर्तन गरेका थिए ।
पाकिस्तानविरुद्धको पहिलो खेलमा सुरुआती ११ मा रहेका कप्तान विराज महर्जनसहित स्ट्राइकरहरु भरत खवास र नवयुग श्रेष्ठ बिहीबार बेन्चमा थिए ।
भुटानविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरे । विराज, नवयुग र भरतको ठाउँमा बिहीबार दिनेश राजवंशी, सुनिल बल र विशाल राई पहिलो रोजाइमा परेका थिए ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालको यो जितसँगै सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । भुटान भने लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले समूहको अन्तिम खेलमा शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ ।
विराज महर्जनको कीर्तिमान
नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन देशका लागि सर्वाधिक खेल खेल्ने फुटबलर बनेका छन् ।
भुटानविरुद्धको खेलमा ८४औं मिनेटमा मैदान प्रवेश गरेका विराजले राष्ट्रिय टोलीका लागि ६९ खेल खेल्ने कीर्तिमान राखेका हुन् ।
यसअघि, यो कीर्तिमान राजुकाजी शाक्यको नाममा ६८ खेलको थियो । जसलाई विराजले पाकिस्तानविरुद्धको खेलमा मैदानमा उत्रँदै भेट्टाएका थिए ।
प्रतिक्रिया दिनुहोस्