६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


सरकारले गरिखाने देशका रुपमा नीति बनाउन सकेन : रवि लामिछाने


169
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको स्पष्ट हुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताउनुभएको हो ।

उहाँले सरकारले अनुदान लिने भन्दापनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिनुभयो । लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उहाँको भनाई छ । उहाँले स्थानीय तहहरुलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको बताउनु भयो । उहाँले स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गरी उद्यमशिलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गर्नुभयो ।

उहाँले व्यापारी, व्यवसायीलाई नेताले संरक्षण गर्ने नभइ नीति ले संरक्षण गर्नुपर्ने अवस्था बनाउनुपर्ने बताउनु भयो । सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ, नागरिक अशक्त तथा अपांगता भएका व्यक्तिहरुको पक्षमा नभएको समेत उहाँको भनाई छ ।