बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १९ । कैलालीमा खुला सीमाका कारण भारतबाट भन्सार छलेर सामान तस्करी हुनेक्रम बढ्दै गएको छ ।
दुई दिनअघि १३ लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको सशस्त्र प्रहरीले फेरि पनि कपडा बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ को मोहना घाटबाट भन्सार छलेर ल्याइँदै गरेको कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सोमबार राति १२ बजेतिर भन्सार छलेर मोहना घाट हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा कपडा बरामद गरेको त्रिनगर बोडर आउट फोर्स धनगढीका निमित्त प्रमुख सई टंकप्रसाद सापकोटाले जनाकारी दिए ।
उनकाअनुसार स्थानीयले मोहना घाट भएर रातिको समयमा चोरी–तस्करी हुने गरेको जानकारी गराएपछि गस्तीकाक्रममा सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको सामानमा केही रेडमेट कपडा, सर्ट, पाइन्ट, कोट बनाउने थान कपडा रहेको सई सापकोटाले जानकारी दिए ।
उनकाअनुसार बरामद भएको करिब ४ लाख रुपैयाँको सामान मंगलबार त्रिनगर भन्सार कार्यालयलाई बुझाइएको छ ।
कैलाली, कन्चनपुरका खुला सीमानाकाबाट नेपालका व्यापारीहरुले भन्सार छलेर सामान भित्र्याउने गरेका छन् ।
यस्ता घटनामा सामान भित्र्याउने व्यक्ति भने उम्कने गरेका छन् । अवैधरुपमा सामान भित्र्याउने भरियाहरु सामान सडकमै फालेर फरार हुने गरेका हुन् ।
प्रहरी चेकजाँच वा गस्तीको सुइँको पाएपछि उनीहरु समान फालेर भाग्ने गरेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्