१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


सडक निर्माणमा ढिलाई गरेकाे भन्दै इटहरीका मेयरले ठेकेदारको गाडी लिए नियन्त्रणमा


195
Shares

काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिनुभएकाे छ ।

उहाँले सडक निर्माण कार्य सुस्त गतिमा गरेकाे भन्दै ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिनुभएकाे हाे । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी रहेकाे छ ।

विराटनगर–धरान सडक खण्ड अन्तर्गत हिम धुङ थोकर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको तरहरादेखि धरानको सेउतीसम्मको सडक निर्माण कार्य सुस्त गतिमा गरेकाे हाे । पटक-पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेपछि गाडी नियन्त्रणमा लिनु परेको मेयर पौडेलले बताउनुभयाे।

ठेकेदारले ३ दिनभित्र काम द्रुत गतिमा सञ्चालन गर्न लिखित प्रतिवद्धताका लागि नआए थप प्रक्रिया अगाडि बढाउने उहाँकाे भनाइ छ । स्थानीय सरकारले लचकता अपनाएर चाँडो काम सक्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि ठेकेदार कम्पनीलाईं लिखित प्रतिवद्धता जनाउन समय दिएको मेयर पौडेलको तर्क छ ।