११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


बेनी–बागलुङ सडक एक साता बन्द


975
Shares

म्याग्दी । बेनी–बागलुङ सडक एक साताका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

म्याग्दीको बेनीदेखि रत्नेचौर हुँदै बाग्लुङ जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक एक साताका लागि पूर्ण रुपमा पूर्णरुपमा बन्द गरिएको हो ।

बेनी नगरपालिकाले एक सूचना प्रकाशन गरी बेनी–बाग्लुङ सडकअन्तर्गत बेनी नगरपालिका–१ र २ मा पर्ने रत्नेचौर–खवरा खण्डमा सडक कालोपत्रे गर्न वैशाख ५ गतेदेखि १२ गतेसम्म पूर्ण रुपमा बन्द रहने जानकारी गराएको हो ।

सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको काम सुरू भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

१४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्ला भित्र पर्छ । वागलुङ क्षेत्रमा पर्ने सडक कालोपत्रे भइसकेको छ भने म्याग्दी क्षेत्रको सडकमध्ये साढे तीन किमि सडक कालोपत्रे गर्न बाँकी थियो ।

रत्नेचौरबाट बेनीको खवरासम्मको उक्त सडक कालोपत्र गर्ने काम वि.सं.२०७४ मा रु. १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बिएन जेभीले लिएको थियो ।

कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेको थियो । लगातारको ताकेतापछि काम सुरू भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।