काठमाडौं, भदौ १७ । गृहमन्त्री रामबहादुर थापाले एआइजी बढुवालाई एक हप्ताभित्र टुंग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि बढुवा प्रक्रिय अघि बढ्न सकेको छैन ।
सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको तीन जना एआइजीको पदपूर्ति अझैसम्म हुन सकेको छैन । प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री थापालाई पटक पटक एआइजी बढुवाका लागि झक्झक्याउँदै आए पनि बढुवा प्रक्रिय जहाँको तहीँ छ । जसका कारण बढुवाको लाईनमा रहेका ५ जना डिआइजीहरु एआइजी बन्नबाट बञ्चित बनेका छन् ।
नियमित रुपमा हुनुपर्ने बढुवा नहुँदा प्रहरी सङ्गठनमै नकारात्मक असर पर्ने सम्भावना पनि बढेको छ भने संगठनको चेन अफ कमाण्ड पनि प्रभावित हुने पूर्व प्रहरी अतिरिक्त नायब महानिरीक्षक नवराज ढकाल बताउँछन् ।
डिआइजीहरू पुष्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह एआइजी बन्ने लाइनमा छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए ।
उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल भने आइजिपी बनिसकेका छन् । एआइजीका सबै दाबेदार अधिकृतहरु ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्