काठमाडाैं । सातदोबाटो युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो ।
निकै रोमाञ्चक एवं प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलकालागि दुवै गोल विदेशी खेलाडीले गर्दा सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले सान्वना गोल फर्काएका थिए ।
जावलाखेलका लागि फोडे फोफना र एनकोटो मोसाबीले गोल गरेका थिए । दुई गोलले पछि रहेको सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि बाँकी समयमा थप गोल हुन सकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्यो । यस जितेसँगै जावलाखेलको ६ खेलबाट १३ अंक छ हुँदा सातदोबाटोको १२ अंक रहेको छ ।
लिग अन्तर्गत आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजले शुरुवाती अग्रता लिएपनि जोगाउन असफल रहेको थियो । यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ । एनआरटी १३ औं स्थानमा रहेको छ । यस्तै स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ । चर्च ब्वाइज तेस्रो स्थानमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्