
काठमाडौं, भदौ १७ । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यती एयरलायन्सको विमानलाई एपीएफ टोलीले आफ्नो जनशक्ति तथा स्काभेटरको सहयोगमा धावनमार्ग हुँदै सुरक्षित स्थानमा पुर्याएको छ ।
विमान दुर्घटना भएपछि अवरुद्ध विमानस्थल उक्त विमानलाई हटाएपछि सुचारु भएको हो ।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको सो विमान शनिबार बेलुका करीव साँढे आठ बजे कोटेश्वरतर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर ४/५ मिटर बायाँतर्फको घाँसे मैदानमा जहाजको तीनवटै पांग्रा धसिन गएको थियो ।
सो दुर्घटनामा चालक दलका सदस्य ३ जना तथा २१ जना यात्रुहरु सबै सकुशल रहेका छन् ।
उक्त दुर्घटनापछि आइतबार बिहान करीव साढे ३ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकद्वय मिनराज भट्ट र भवराज कटवालको छुट्टैछुट्टै विपद उद्धार टोली उद्धार कार्यका लागि खटिएको थियो ।
एपीएफ टोलीको लगातारको प्रयासपछि बिहान करीव साढे ७ बजे उक्त विमानलाई धसिएको घाँसे मैदानबाट धावनमार्ग हुँदै हटाइएको हो ।
उक्त विमानलाई घाँसे मैदानबाट हटाएपछि एपीएफ टोलीले सम्बन्धित एयरलायन्सका प्रतिनिधिहरुलाई जिम्मा लगाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्