
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ४ । प्रदेश नम्बर–७ को सरकारले ल्याएको २५ वर्ष ६ करोड रुपैयाँ बराबरको बजेटमाथि सोमबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ ।
असार १ गते सार्वजनिक गरिएको बजेटमाथिको छलफलमा भाग लिने प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको कडा आलोचना गरेका छन् भने सत्तापक्षका सांसदले सक्दो बचावट गर्ने कोसिस गरेका छन् ।
छलफलमा भाग लिँदै नेपाली कांग्रस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले बजेटले कुनै ठोस विषयवस्तुलाई समेट्नुभन्दा पनि टालटुल गर्ने काममात्रै गरेको बताए ।
उनले सातओटा प्रदेश सरकारमध्ये प्रदेश–७ लेमात्रै पुँजीगतभन्दा बढी चालूगत बजेट ल्याएको भन्दै यसले कुनै विकासको गति नलिने दाबी गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य कृष्ण चौधरीले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट तयार गर्नुपूर्व प्रदेशसभा सदस्यहरुसँग छलफल गरेपनि छलफलकाक्रममा उठेका कुनैपनि कुरालाई बजेटमा नसमेटेको जिकिर गरे ।
चौधरीले आफूले बजेटअघि मन्त्रालयमा योजना माग गर्न जाँदा ‘रेशम चौधरी (निर्वाचित प्रतिनिधिसभा सदस्य)को मान्छे हो’ भन्दै अवहेलना गरिएको गुनासो पनि गरे ।
कैलाली र कन्चनपुर जिल्ला अन्नको भन्डारकारुपमा रहेपनि सिँचाइका लागि कुनै योजना नपर्नुले सरकारले पाँच वर्षमा कृषिमा आत्मनिर्भर प्रदेश बनाउँछु भने कुरा हावादारी भएको टिप्पणी उनले गरे ।
छलफलमा सत्तापक्षका प्रदेशसभा सदस्य तारा लामा तामाङले भने बजेटको सक्दो बचावट गरेका छन् ।
उनले प्रदेश–७ को सरकारले ल्याएको बजेट कार्यान्वयन गर्नसके त्यसले प्रदेशमा थोरै भएपनि विकासको गति पाउने दाबी गरे ।
उनले प्रदेश सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्याएको २ करोड रुपैयाँलाई सबै सदस्यले सही ठाउँमा खर्च गर्नसक्ने हो भने पाँच वर्षभित्र प्रदेशको मुहार फेरिन समय नलाग्ने बताए । बजेटको आलोचनामात्रभन्दा पनि कार्यान्वयनमा सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।
यो पनि पढ्नोस्
प्रतिक्रिया दिनुहोस्