Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु


234
Shares

सागर महत, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुराको चापटारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालक घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा लु ४ त ९७१६ नम्बरको ट्याक्टरमा सवार पाल्पाको छहराका २२ वर्षीय गणेश राजकोटी मगरको मृत्यु भएको हो। ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का पुण्यप्रसाद थारु घाइते भएका छन्।

बल्कोट प्रहरीका अनुसार रोलर बोकेर आएको ट्याक्टर ओरालो सडकमा ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो।

घाइते चालकलाई बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ।

दुर्घटनाका क्रममा सडकमा रोकिराखिएको लु ७२ प २०६३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।