१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


लुँमरी र कंग अजिमाको खटजात्रा


91
Shares

काठमाडाैं । अतिथि देवो भवः मूलमन्त्रलाई आत्मसाथ गरी मनाइने पाँहाचह्रे पर्वको खटजात्रा उपत्यकामा निकालिएको छ । काठमाडौंको असनमा तेस्रो दिन आज शक्ति पिठहरुमा खट जात्रा निकालिएको हो ।

लुँमरी अजिमा, भद्रकालीको दुईवटा खट र कंग अजिमा चामुण्डा कंकेश्वरीलाई बाजागाजा सहितको खट जात्रा गरी जात्रा मनाइएको हो । दिदीबहिनीको मिलनको रुपमा अजिमाहरुको खटलाई असनमा भेला गराई एक आपसमा घुमाइन्छ ।

सम्मानका लागि खटलाई एक आपसमा ठोक्काउने समेत गरिन्छ । त्यस क्रममा आगो बलेको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने गरिन्छ ।

जात्रामा असनको घरघरबाट चामलको रोटी अर्थात् चटामरी र विभिन्न रंगका रोटी प्रसादको रुपमा फाल्ने चलन छ । यस पर्वमा असन वरपरका चेलीबेटीलाई बोलाई भोज खुवाउने गरिन्छ ।

साथै जनबहालको लुँचुँमरी अजिमा, टंकेश्वरको नील बाराहि अजिमा, बाँगेमुढाको नरसिंह आजु र गणेश, किलागलको गणेश र नक्सालको भगवती लगायतको शक्ति पीठ र भैरवहरुको खट जात्रा समेत गरिएको छ । पाँहा चह्रे अर्थात अतिथि वा पाहुनालाई बोलाई भोज खुवाउनु यो पर्वको मौलिक विशेषता हो ।