Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सरकारी सेवामा करारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनुभएको छ ।

सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानूनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताउनुभयो । उहाँले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलतालगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताउनुभयो । उहाँले रोजगारीका लागि विदेश गएका युवाहरुलाई दुःख दिने दिन गएको दाबी गर्नुभयो । उहाँले सरकारले विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा थप जनमुखी र श्रमिकमैत्री सेवा प्रवाह गरी युवाहरुले दुःख पाउने कुराबाट मुक्ति दिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।