१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


राहुल गान्धी ल्हासातर्फ प्रस्थान


0
Shares

काठमाडौं, भदौ १६ । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश यात्राका लागि तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् ।

कैलाश मानसरोवर जानका लागि हिजो दिउँसो नयाँदिल्लीबाट काठमाडौं आएका उनी आज ल्हासा हुँदै कैलाश जान लागेका हुन् ।

गएराति काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका उनी शुरुमा नेपालगञ्जबाट हुम्ला हुँदै मानसरोबर पुग्ने बताइएको थियो । तर आज भने एअर चाइनाको विमानमार्फत् कैलाश यात्रामा लागेका हुन् ।

आगामी वर्ष हुने भारतीय संसदको निर्वाचनमा हिन्दु मत आकर्षित गर्न प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका अध्यक्ष गान्धी विभिन्न धार्मिक पीठको यात्रामा छन् ।

गान्धीमाथि धार्मिक आस्था नभएको आरोप भारतीय जनता पार्टीका नेताहरुले लगाइरहेका छन् भने उनी आफू शिवभक्त रहेको जिकिर गर्दै आएका छन् ।

आफ्नो राजनीतिक यात्राका क्रममा भारतका विभिन्न पीठमा पूजा आराधना गर्दै आएका गान्धी विपक्षीको प्रहार चिर्नकै लागि पनि १२ दिन लामो कैलाश यात्रामा निस्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेकै बेला कंग्रेस अध्यक्ष एवं विपक्षी दलका नेता गान्धी पनि काठमाडौं पुग्नुलाई भारतीय सञ्चारमाध्यमहरुले भने विभिन्न कोणबाट अर्थ्याइरहेका छन् ।