१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने


169
Shares

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्ने छ ।

एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ ।

बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।