Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


गभर्नर अधिकारीको प्रश्न – २०४६ साल पछाडि फर्किन खोजेको हो ?


1.9k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडि फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गर्नुभएको छ ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताउनुभयो । उहाँले आवाजविहिनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताउनुभयो ।

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्नुभयो । उहाँले पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताउनुभयो । गभर्नर अधिकारीले नेपाल अहिले करिब १० अर्ब भन्दाबढी डलरको सञ्चितिमा रहेको भन्दै करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबैकुरामा नकारत्मक रुपले नहेर्न आग्रह गर्नुभयो ।