११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


ओखलढुंगामा बनेका अस्पताल सञ्चालनमा आउन सकेनन्


247
Shares

ओखलढुंगा । ओखलढुंगामा निर्माण सम्पन्न भएका तीन स्थानीय तहका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेका छैनन् ।

जिल्लाको चिशंखुगढी, खिजीदेम्बा र लिखु गाउँपालिकामा अस्पताल निर्माण भए पनि जनशक्ति, फर्निचर, औषधि र औजार उपकरण अभावमा अस्पताल सञ्चालनमा आउन नसकेका हुन् ।

हरेक स्थानीय तहमा ५ शैय्याको प्राथमिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा अनुसार बनेका प्राथमिक अस्पताल सञ्चालनका लागि कुनै व्यवस्थापन नभएको गुनासो बढ्न थालेको छ ।

केहीहप्ता अघि मात्रै प्रदेश १ को प्रदेशसभामा ओखलढुंगा प्रदेशसभा क का सांसद प्रदीपकुमार सुनुवारले प्राथमिक अस्पतालको व्यवस्थापन र सञ्चालन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

जिल्लाका अन्य स्थानीय तहमा पनि अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ । तर, अस्पताल सञ्चालनमा नआउँदा स्थानीय तह तथा नागरिकमा भने अन्योलता सिर्जना भएको छ ।