हिले (धनकुटा) । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए ।
सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भन्नुभयो, ‘गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि बाँदरलगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गाउँ छाड्न सबै बाध्य भए । अब तीन घर मात्र बाँकी रहेका छौँ ।’
धनकुटा नगरपालिका–९, माहाङमा करिब ५० परिवारको बसोबास छ । सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो । बाली सखाप पारेपछि घर वरिपरिबाहेक अन्य क्षेत्रमा खेती गर्न छाडेको स्थानीय रविन घिमिरेले बताउनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्