Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


राष्ट्रपतिमा न्यायाधीशहरूको चासो


312
Shares

काठमाडौं । न्यायाधीश समाजले पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूलाई राष्ट्रपति र उपराष्ट्रपति बन्न संविधान र कानुनले नछेक्ने बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दुई दिनअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा अध्यक्ष रहेको उक्त समाजले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि न्यायाधीश योग्य रहेको दाबी गरेको छ ।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीश अध्यक्ष रहेको समाजले राष्ट्रपतिमा चासो व्यक्त गर्दै बिहीबार विज्ञप्ति जारी गरेपछि त्यसलाई लिएर न्यायिक क्षेत्रमा बहस सुरु भएको छ । राष्ट्रपति पदमा पूर्वप्रधानन्यायाधीशद्वय खिलराज रेग्मी र कल्याण श्रेष्ठको चर्चा चलिरहेका बेला न्यायाधीश समाजले न्यायाधीशलाई राष्ट्रपति र उपराष्ट्रपति बन्न संविधानले नछेकेको र उनीहरू त्यसका लागि योग्य रहेको दाबी विज्ञप्तिमार्फत गरेको हो ।

अदालतमा आएका मुद्दाको छिनोफानो गर्ने बहालवाला न्यायाधीश संलग्न न्यायाधीश समाजद्वारा जारी विज्ञप्तिले बार र बेन्चबीच एकखालको बहसको वातावरण सिर्जना गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाउन नहुने धारणा सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालत बारको कार्यसमिति बैठकको निर्णयबारे जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हरिशंकर निरौलाले संविधान र कानुनविपरीत पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने बताएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ का दफा ११ र १२ मा उम्मेदवारको योग्यता सम्बन्धमा कुनै लाभ पदमा बहाल नरहेको, सरकारी कोषबाट आर्थिक सुविधा पाउने पद धारण नगरेको व्यक्ति मात्र राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार हुन पाउने व्यवस्था छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।