
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इमानदारितामाथि प्रश्न उठाउनुभएको छ ।
बुधबार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रचण्डको इमान्दारीतामाथि प्रश्न उठाउनुभएको हो ।
ओली निकट एमाले नेता विशाल भट्टराईले भन्नुभयो– ‘उहाँले गठबन्धनप्रति तपाईंको इमानदारिता छ कि छैन भन्दै प्रष्ट पार्न प्रचण्डलाई आग्रह गर्नुभएको छ । अध्यक्ष कमरेडले सत्ता गठबन्धन निर्माण भएको बेलाको राजनीतिक सहमति पालना गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डको भूमिकाका विषयमा जिज्ञासा राख्नुभयो । यही गठबन्धनलाई कायम राख्ने कुरामा प्रचण्डले पनि सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । यद्यपि, राष्ट्रपतिका विषयमा गठबन्धनभन्दा बाहिर गएर निर्णय भयो भने हामी यही गठबन्धन छ भनेर सरकारमा बसिरहने अवस्था हुँदैन ।’ पुस १० मा सरकार बनाउँदा सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्री माओवादीलाई, सभामुख र राष्ट्रपति एमालेलाई र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने लिने सहमति भएको एमालेको दाबी छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले आफूले राष्ट्रपति पाउनुपर्ने र माओवादीले साझा सहमतिको राष्ट्रपतिको अडान नछाडेपछि सत्तासीन दल एमाले–माओवादीबीच खटपट देखिएको छ । त्यही खटपटलाई तत्कालका लागि साम्य बनाएर राष्ट्रपति हात पार्न ओलीले नयाँ रणनीतिस्वरूप राजनीतिक बजारमा नयाँ विकल्पहरू फाल्न थाल्नुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्