काठमाडौं । बागमती प्रदेशले मंगलबारदेखि सवारी चालक अनुमति पत्रको परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले लिखित र ट्रायल परीक्षाको नयाँ नियम लागू गर्न लागेको हो । विशेष गरी ट्रायल परीक्षामा ७० प्रतिशत अंक प्राप्त गरेमा उत्तीर्ण हुने नियम लागू गर्न लागिएको हो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानूनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १ सय पूर्णाङ्कको प्रश्न सोधिने भएकाे छ ।
त्यसमा ४-४ अंकका २५ वटा वस्तुगत उत्तर दिनु पर्नेछ । ट्रायलमा भने ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ । ट्रायल दिने परीक्षार्थीले कार्यालयले तोकेका सवारी मात्रै प्रयोग गर्नुपर्ने छ । ट्रायलका विभिन्न चरणको छुट्टाछुट्टै अंक पनि तोकिएको छ । यहि फागुन १ गतेदेखि नै यो नियम लागू गर्ने भनिएकोमा सोमबार सार्वजनिक बिदा परेकाले मंगलबारदेखि उक्त नियम लागू गर्न लागिएको हो । बाग्मती प्रदेशका ५ वटा यातायात व्यवस्था कार्यालयले दैनिक ६ हजार जनासम्मको ट्रायल परीक्षा लिंदै आएका छन् ।
यातायात व्यवस्था विभागले २०७८ जेठदेखि नै नयाँ नियम लागू गर्ने निर्णय गरेको थियो । प्रदेश-१, मधेश प्रदेश, गणडकी प्रदेश, लुम्विनी प्रदेशमा नयाँ व्यवस्था लागू भइसकेको छ । तर, बाग्मती प्रदेशमा विभिन्न स्वार्थी तत्वहरु हावी हुँदा नयाँ नियम लागू हुन सकेको थिएन । नयाँ व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झण्झटलाई न्यूनीकरण गर्ने र अनावश्यक घुखोरी नियन्त्रण हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्