२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


तनहुँ जलविद्युत आयोजनाकाे मुख्य सुरूङ खन्ने काम सम्पन्न


52
Shares

काठमाडौं । तनहुँमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको सुरुङको ब्रेकथ्रु भएको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा सेती नदी फर्काउने गरी निर्माण भइरहेको १ सय ४० मेगावाट क्षमताको आयोजनाको बायाँ किनारतर्फको बाँधको माथिल्लो भागतर्फ जाने ४ सय ३६ मिटर लामो प्रवेश सुरुङ निर्माणकाे काम सम्पन्न भएको हो । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १ सय ४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ दा कर्पोरेशन र भियतनाम–कालिका कन्सट्रक्सनले निर्माण गरिरहेको छ ।

त्यस अन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य र प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेको छ । ५ सय ३९ दशमलव ८ मिटर लामो डाइभर्सन सुरुङ–१ को ब्रेकथ्रु यस अघि नै भइसकेको छ ।

दोस्रो प्याकेज अन्तर्गत आयोजनाको विद्युत गृह र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम चीनको सिनो हाइड्रोले गरिरहेको छ । तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसीले गरिरहेको छ । २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

त्यस मध्ये एशियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी लगानी व्यवस्थापन गरिएको छ ।