१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


फाइनलमा पराजित सुष्मालाई रजत


1.365k
Shares

काठमाडौं । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छन् ।

सुष्मा बुधबार भएको ४८ केजी तौल समूहको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् ।

पराजित भएसँगै सुष्मा रजतमै सीमित हुनुपर्‍यो । तर, रजतमै सीमित भएपनि सुष्माको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

यसअघि उनले क्वाटरफाइनलमा भियतनामकी फाम थी किनहान र सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गरी ऐतिहासिक रुपमा फाइनलमा पुगेकी थिइन् ।

थाइल्याण्डको बैंककमा भइरहेको प्रतियोगितामा फरक तौलसमूहका ३ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका अन्य तीन खेलाडीले कास्य पदक जितेका छन् ।

क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरी सेमिफाइनलमा पुगेकी ५७ केजी समूहकी हुमा राई, बाइ पाएर सिधै सेमिफाइनलमा पुगेकी ७५ केजी समूहकी त्रिशा जगेबु र पुरुषतर्फ ८६ केजी तौल समूहका विजय बाटाले कास्य पदक जितेका हुन् ।