
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।
जितको लागि ५२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफकी सिता राना मगरले १९ रनमा अविजित रहिन् । रोमा थापाले अविजित १४ रन बनाईन् । ज्योति पाण्डेले ८ रन बनाईन् ।
गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो ।
गण्डकीका कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । सुजाता थापा र कुसुम गोदारले समान ७/७ रन बनाउँदा निरुता जिटीले पाँच रन बनाइन् ।
एपीएफकी सुमन विष्टले ३ विकेट हात पारिन् ।
जितसँगै एपीएफले २ अंक जोडेको छ ।
शुक्रबारदेखि सुरू भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्