Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


स्याङ्जाकाे फेदीखोलामा दोस्रो कृषि मेला सम्पन्न, ६० जना कृषक पुरस्कृत


130
Shares

स्याङ्जा । स्याङ्जा फेदीखोला गाउँपालिकाले ‘कृषि व्यवसायिकरणमा हाम्रो अभियान, कृषकहरुलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन’ भन्ने नाराका साथ दोस्रो कृषि मेला तथा प्रदर्शनी सम्पन्न गरेको छ ।

१ सय ४८ कृषक, कृषक समूह र एकीकृत कृषि तथा पशुपंक्षी फर्मको सहभागिता रहेको उक्त मेलामा उत्कृष्टताको आधारमा ६० जनालाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा जरे तथा गाने बाली समूह, फूल तथा पाते समूह, फल समूहको तरकारी बाली, मसला बाली समूह, लहरेबाली समूह, नगदेबाली समूह, फलफूल समूह, गँड्यौली मल, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह गरी १२ वटा विधामा प्रतिष्पर्धा भएको थियो ।

उत्पादनमा गुणस्तर, स्वस्थ बाली, उच्च मूल्यको बाली, बजारमुखी उत्पादन, उत्पादन क्षेत्रफल, पशुपंक्षी संख्या, फर्म व्यवस्थापन, उत्पादित वस्तुको आकार र व्यवस्थापन लगायतका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार वितरण गरिएको थियो । एकीकृत कृषि तथा पशुपंक्षी फर्म अन्तर्गत ४ वटा विधा (एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर समूह, गाई भैँसी समूह र पंक्षी समूह) मा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना २ जनालाई ३/३ हजारको दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

साेही मेलामा कृषि वैज्ञानिक श्यामप्रसाद पौडेल, बागबानी विकास अधिकृत सरोज अधिकारी, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट रमेश बिक र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुरुषोत्तम कोइराला लगायतको विज्ञ टोलीले स्थलगत फर्म तथा प्रर्दशनी स्टलको अनुगमन एवं मूल्यांकन गरेको थियो ।