२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


काठमाडौंलाई पराजित गर्दै विराटनगर प्लेअफमा

पोखरा र फारवेस्टबीचको खेल जारी

91
Shares

काठमाडौं । कप्तान रोहित पौडेल र गौरान्सु शर्माको अर्धसतकीय पारिमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स जारी नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ ।

काठमाडौंले प्लेअफमा स्थान बनाउन अर्को खेलमा पोखरा एभेन्जर्स फारवेस्टर्न यूनाइटेडसँग पराजित हुनुपर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेकाे हाे । विराटनगरका कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको इनिङ खेलेका छन् । उनले ४२ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन् । जारी प्रतियोगितामा यो रोहितको तेस्रो अर्धसतक हो ।

ओपनर अर्जुन साउद १० रनमा आउट हुँदा गौरान्सु शर्माले ५१ रनको अविजित इनिङ खेलेका छन् । उनले ४९ बलमा ४ चौका प्रहार गरेका हुन् । काठमाडौंका अविनाश बोहराले दुई विकेट लिएका छन् । यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरेका छन् ।

सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन जोडेका छन् । उत्कृष्ट बलिङ गरेका विराटनगरका राज नानन्ले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिएका छन् । विराटनगर १० खेलमा ५ जित निकाल्दै १० अंकका साथ तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको हो । १० खेलमा ४ जित निकालेको काठमाडौंको ८ अंक रहेको छ ।

आज शनिबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडबीच खेल भइरहेको छ । लुम्बिनी अल स्टार र जनकपुर रोयल्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।